स्वास्थ्यमन्त्री यादवको दबावमा बीपीको सिनेट बैठक स्थगित

Newslaya Home

स्वास्थ्यमन्त्री यादवको दबावमा बीपीको सिनेट बैठक स्थगित

शनिबार २३, कार्तिक २०७६

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार हुनुपर्ने सिनेट बैठक अन्तिम समयमा आएर स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबावमा स्थगित भएको छ ।

प्रतिष्ठानको ४३ औं सिनेट बैठकका लागि सबै सिनेट सदस्यहरू काठमाडौं पुगिसकेका थिए भने बैठकका लागि निर्माणाधीन अवस्थामा रहेको मातृशिशु भवन, फ्याकल्टी प्रोमोसन, तलब, बजेटलगायतका एजेण्डा तयार गरिएको थियो ।

बैठकको सम्पूर्ण तयारी सकिएको बेला बिहीबार सिनेट अध्यक्षसमेत रहने स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सिनेट रोक्न निर्देशन दिए । प्रतिष्ठानको नियमित सिनेट बैठक नभएको डेढ वर्ष भइसकेको छ ।

सिनेट बैठकमा सहभागी हुन काठमाडौं पुगेका एक सदस्यका अनुसार स्वास्थ्यमन्त्रीले रजिष्ट्रार बिना बैठक हुन नसक्ने भन्दै स्थगित गरेका थिए । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्रतिष्ठान रजिष्ट्रारविहीन छ भने तत्कालीन उपकुलपति डा।राजकुमार रौनियार पनि घूस रकमसहित अख्तियार टोलीबाट पक्राउ परेपछि रेक्टर गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

सिनेट बैठक स्थगित भएपछि प्रतिष्ठानका समस्या झन् बढ्ने निश्चित छ । अब सिनेट बैठक कहिले बस्ने भन्ने टुङ्गो छैन । नयाँ बैठकका लागि कम्तिमा तीन हप्ताअघि नै पत्राचार गर्नुपर्ने नयाँ प्रक्रियामा जानुपर्छ ।

सिनेट बैठक स्थगित भएपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरू आक्रोसित छन् । प्रतिष्ठानका सह–उपकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्ना हुनेवाला सम्धी डा.बिएन यादवलाई रजिष्ट्रार जबरजस्ती दबाव दिँदै आएको र त्यही कारण सिनेट बैठक स्थगित भएको प्रतिष्ठानका वरिष्ठ प्रशासन सहायक महेश्वर राईले फेसबुकमा स्टाटस लेखेका छन् । सिनेट बैठकका लागि काठमाडौं पुगेका सिनेट सदस्यहरू पनि स्वास्थ्यमन्त्रीले डा.बिएनलाई रजिष्ट्रार बनाउन दबाव दिएका कारण बैठक स्थगित भएको बताएका छन् ।