लिपुलेक हत्याउन भारतको वर्षौंको तयारी, ६० वर्षदेखि नेपाली पस्नै दिएन

Newslaya Home

लिपुलेक हत्याउन भारतको वर्षौंको तयारी, ६० वर्षदेखि नेपाली पस्नै दिएन

शनिबार २३, कार्तिक २०७६

दार्चुला । लिपुलेक र कालापानी क्षेत्र हत्याउन भारतले दशकौंअघिदेखिको तयारी गरेको खुलेको छ । भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आएको थियो । तात्कालिन नेपाल सरकारले चासो नदिएपछि भारतले नक्सा नै बदल्नेसम्मको हर्कत गरेको खुलेको छ ।

उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह तिंकरीले बताए । सो क्षेत्र बन्द हुँदा अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नुपरेको छ । पचासको दशकसम्म नेपाली र भारतीयले लिपुलेकबाटै चीनको ताक्लाकोटसित व्यापार गर्ने गरेका थिए । तर माओवादी द्वन्द्व चर्किएको बहानामा भारतीय पक्षले उक्त क्षेत्रमा नेपालीलाई प्रवेशमा कडाइ गरेको हो ।

यो वर्ष मात्र उक्त क्षेत्रमा भारतीय पक्षले चार हजारको हाराहारीमा सैनिक बढाएको बताइएको छ । लिपुलेकसम्म भारत र चीनले सडक पुर्‍याएको अवस्था छ । भारतले गुञ्जीबाट नेपाली भूभाग प्रयोग गर्दै आएको छ । गुञ्जीबाट कालापानी ९ किलोमिटरको दूरीमा पर्छ ।

एक दशक अघिदेखि भारतले धारचुलादेखि लिपुलेकसम्म मानसरोवर मार्ग भनेर दुई लेनको सडक निर्माण गर्दै आएको छ । छियालेकदेखि लिपुलेकसम्मको भागमा सडकको ट्र्याक खोलिसकेको छ । त्योभन्दा तल्लो क्षेत्रमा निर्माण कार्य तीव्र भइरहेको स्थानीय बताउँछन् ।

सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो । भारतले ३० किमिपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु गर्‍यो । नेपालले कालापानी र लिपुलेकको स्वामित्व दाबी गर्दै आए पनि लिम्पियाधुरा भने चुपचाप त्यागिदिएको थियो । कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिमि छ । लिम्पियाधुराको ३ सय १० वर्गकिमि भारतले यसअघि नै कब्जा गरिसकेको छ ।