इटहरीमा बजार बन्द गर्ने विषयमा अझै विवाद

Newslaya Home

इटहरीमा बजार बन्द गर्ने विषयमा अझै विवाद

शनिबार २३, कार्तिक २०७६

इटहरी । विहीबार बन्द हुँदै आएको इटहरी बजार शनिबार बन्द गर्ने निर्णय कार्यान्वयनको प्रयासमा छ, उद्योग वाणिज्य संघ इटहरी । तर व्यवशायीहरु भने विभाजित छन् ।

शनिबार बन्द गर्ने विषयमा उद्योग वाणिज्य संघ इटहरीका तीन हजार बढी सदस्यले भोटमार्फत् निर्णय गरिएको थियो । तर शनिबार बन्द गर्न संघले आग्रह गरेपनि गत विहीबार बजार ७० प्रतिशत मात्र खुल्यो । कति व्यवशायीहरु शनिबार नै पसल खोल्ने बरु झगडै गर्ने मुडमा छन् । ‘शनिबार नै दिन बढी व्यापार हुन्छ, घरभाडा, कर संघले तिरिदिन्छ ?’ एक व्यवशायीले आक्रोश पोखे ।

हुन त यो दिन बन्द गर्नु भनेर कुनै व्यवशायीकै संघले भन्ने वा बन्द गर्न लगाउने विषय होइन । तर इटहरीमा भने यो अभ्यास वर्षौंदेखि छ । यसलाई तोड्नुपर्ने धारणा कतिपय व्यवशायीको छ ।

शनिबार वा विहीबार कुन दिन बन्द गर्ने भन्ने विषयमा झण्डै आधा–आधा व्यवशायीहरु विभाजित छन् । विहीबार बन्द हुँदा सरकारी काम गर्न सहज हुने फाइदा एकातिर छ भने अर्कोतिर शनिबार बन्द हुँदा परिवारसँग समय बिताउन पाउनेमा खुसी छन् । तर शनिबार नै बढी कारोबार हुने तथ्यलाई यहाँका व्यवशायीले स्वीकारेका छन् । त्यसैले शनिबार बन्द गर्दा कारोबार खस्कने चिन्ता पनि उत्तिकै छ ।

नेचुरल ब्युटि पार्लर तथा ट्रेनिङ सेन्टरकी सञ्चालिका सकुन सुब्बाकाअनुसार अरु दिनभन्दा शनिबार व्यापार राम्रो हुने गरेको छ । ‘सबै कर्मचारी र विद्यार्थीहरुको विदा हुने हुँदा शनिबार अलि चहलपहल र व्यापार पनि हुन्थ्यो,’ उनी भन्छिन्, ‘विहीबार बन्द हुँदा सरकारी काम गर्न पनि सहज हुन्थ्यो ।’

संघको नेतृत्वको राजनीतिक झुकावलेसमेत बजार बन्द गर्ने विषयमा विवाद उत्पन्न गरेको बताइन्छ ।

चुनावबाट नयाँ कार्यसमितिमा झण्डै सबै सदस्य नेपाली काँग्रेस सम्बद्ध छन् । त्यसैले नेकपासम्बद्ध व्यवशायीहरुले नयाँ कार्यसमितिलाई असहयोग गर्न बजार बन्दको बखेडा झिकेको आरोपसमेत लागेको छ ।

तर रोसा नुडल्सका सञ्चालक तथा नेकपासम्बद्ध व्यवशायी राजेन्द्रकेशरी घिमिरे भने आरोपलाई निराधार भन्छन् । भोटिङको निर्णय मान्नेमा दुईमत नभएको बताउँदै उनी शनिबार बन्द हुँदा इटहरीका व्यवशायीको व्यापार ३०–४० प्रतिशत खस्कने उनको अनुमानसमेत गर्छन् ।

इटहरी नजिकै रहेको विराटनगर शनिबार बन्द हुने हुँदा विराटनगरका ग्राहकहरु शनिबार इटहरी आउने फाइदा थियो । तर इटहरी पनि शनिबार बन्द हुने भएपनि यहाँका मानिसहरु किनमेलको लागि भारतीय बजार जोगबनी जाने अनुमान घिमिरेको छ । उनी भन्छन्, ‘अब त एकातिर किनमेल गर्न उपभोक्ता भारत वा धरान जानुपर्ने अवस्था बन्यो भने अर्कोतिर शनिबार विदामा बसेर घुम्न निस्कने धेरै ग्राहकहरु व्यवशायीले गुमाउनेभए ।’

यता सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष तथा सिल्भर गोल्ड ट्रेडर्सका सञ्चालक कुमार श्रेष्ठ सुनचाँदि व्यवसायिहरुलाई जुनै दिन इटहरी बजार बन्द हुँदा पनि कुनै फरक नपर्ने बताउँछन् ।

उद्योग वाणिज्य संघकी सदस्य तथा रेडिमेट व्यवसायि संघकी अध्यक्ष गायत्री कट्वाल भण्डारी बहुमतका आधारमा बजार बन्द बारे निर्णय गरिएको बताउँछिन् । विहीबार प्रायः पसल खुलेपनि केही पसल भने बन्द नै रहेको बताउँदै विस्तारै समस्या समाधान हुने बताउँछिन् ।

यता केही व्यवशायीले भने बजार बन्द नै गर्न नहुने जिकिर गर्छन् । रात्रिकालिन बजार लगाउने तयारीमा इटहरी उपमहानगरपालिका रहेको समयमा बजार बन्द गराउन आह्वान गर्न नहुने उनीहरुको भनाई छ । ठूला समस्यामा संघ केन्द्रित हुनुपर्ने उनीहरुको तर्क छ ।

इटहरीका युवा उद्यमी तथा संघका सदस्य सुदिप घिमिरे अब बजार बन्द आह्वान गर्ने समय गइसकेको बताउँछन् । ‘हिजो इटहरी सानो थियो, यो दिन बन्द गरौं है भन्दा हुन्थ्यो,’ उनी भन्छन्, ‘अब बन्द आह्वान गर्नुभन्दा श्रमिकहरुलाईसमेत खुसी बनाएर सकेसम्म सबै दिन खोल्नु उपयुक्त हुन्छ ।’

दिव्यजल उद्योगका सञ्चालक दिनेश भट्टराई पनि घिमिरेको तर्कमा सहमत छन् । भन्छन्, ‘अब यो बजार बन्दको विषय सान्दर्भिक छैन, तन्काएर लानु हुँदैन ।’

कतिपय व्यवशायीहरु भने बजार बन्दको मतदान इटहरीका भित्रि बजारका व्यवशायीले पनि गरेको, तर इटहरी चोकमा मात्र शनिबार बन्द गराउन लागिपरेको भन्दै असन्तुष्टी पोखेका छन् । इटहरीका युवा व्यवशायी लोचन पौडेल भन्छन्, ‘महँगो घरभाडा कसरी तिर्ने भन्ने समस्या भइरहेको बेलामा सबैको विदा हुने शनिबारको दिन बन्द गर्न आह्वान गर्नु हुँदैन । बरु व्यवशायीलाई नै स्वतन्त्र छाडिदिनुपर्छ ।’

इटहरीको कुनामा बस्ने व्यवसायीले गरेको मतदानको परिणाम चोकका ब्यवसायीले मात्र भोग्ने ?