बुबाको हत्या गरेको आरोपमा एक पुरुष थुनामा

Newslaya Home

बुबाको हत्या गरेको आरोपमा एक पुरुष थुनामा

बिहीबार २१, कार्तिक २०७६

सप्तरी । सप्तरीको पकरी कुजराही टोलका एक पुरुषलाई बुवाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले महादेवा गाउँपालिका–१ घर भएका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या आरेपमा बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

गत असोज २० गते मृतकका भाइ मो. इसराइल पमरियाले हत्या गरेपछि फरार रहेका ५० वर्षीय श्रीमती जमुनी खातुन र नइमविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
मदिरा सेवन गरेर घर आएका नइमले असोज १९ गते राति बुवासँग झगडा गरि कुटपिट गर्दा गफुर घाइते भएको छिमेकी फुल मोहम्मदले जानकारी दिए ।

कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । आरोपी नइमले भने आफू र दाजु मो. हकिम पमरियासँग भइरहेको झडडा छुट्याउन आएका बुवा अचानक लडेर मृत्यु भएको बताएका थिए ।
हत्याका आरोपी दुवैलाई प्रहरीले असोज २० गते पक्राउ गरि अनुसन्धान थालिएको थियो । श्रीमती जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरिएको जनाइएको छ ।