पूर्वाञ्चल गोल्डकप : दुई गोल गर्दै आर्मी सेमिफाइनलमा प्रवेश

Newslaya Home

पूर्वाञ्चल गोल्डकप : दुई गोल गर्दै आर्मी सेमिफाइनलमा प्रवेश

बुधबार २०, कार्तिक २०७६

झापा । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप अन्तर्गत बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा भारतको पाहुना टोली मोलवे एफसी असामलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उक्त खेलमा मोलवे एफसी असामलाई २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित बनाएको छ । निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै टेकबहादुर गोल गरेर आर्मीले अग्रता दिलाएका थिए ।

त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए । तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।

असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर, असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो ।

खेलको ७४औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । पुरस्कार सौजन्यकर्ता समाजसेवी श्याम गुरुङले नगद १० हजार प्रदान गरे ।

१० वटा टिम सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ ।