उवासंघ अध्यक्षलाई अनुमतिविना पार्क बनाएको आरोप, प्रक्रियामा रहेको स्पष्टिकरण

Newslaya Home

उवासंघ अध्यक्षलाई अनुमतिविना पार्क बनाएको आरोप, प्रक्रियामा रहेको स्पष्टिकरण

बुधबार २०, कार्तिक २०७६

इटहरी । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलविरुद्ध इटहरी उपमहानगरपालिकाले चिठि काटेको छ । खोला मिचेर र अनुमती नलिइ रिसोर्ट बनाएको भन्दै रोक्न उपमहानगरपालिकाले पत्र काटेको हो ।

निर्माणको काम तत्कालै रोकी तीन दिनभित्र कागजपत्रसहित उपस्थित हुन पौडेललाई पत्र पठाएको हो । पत्र काटेसँगै बुधबार पौडेलले उपमहानगरपालिका मेयर तथा उपमेयर लगायत वडाध्यक्षहरुलाई भेटेका छन् । छलफलमा प्रक्रियाअनुसार काम अघि बढाउने विषयमा छलफल भएको पौडेलले बताए । ‘विहीबार कागजपत्र उपलब्ध गराउनेछु,’ उनले भने ।

इटहरी–२ तालतलैया पश्चिम दक्षिणमा रहेको सेहरा खोला किनारमा पौडेलले रिसोर्ट निर्माण गरिरहेका छन् । पूर्वी नेपालकै अत्याधुनिक दावी गरिएको उक्त रिसोर्ट बनाउँदा उपमहानगरपालिकासँग इजाजत नलिएको आरोप उपमहानगरको छ ।

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उजुरीका आधारमा पत्र काटेको बताएकी छिन् । खोला मिचेको ठहरिए संरचना भत्काउन निर्देशन दिन सक्नेछ । आफै नभत्काए नगरपालिकाले भत्काएर भत्काउँदा लागेको खर्च भरपाई गराउन सक्नेछ ।

यता पौडेलले भने खोला नमिचेको दावी गरेका छन् । जग्गाभित्र निर्माण सुरु गर्नुअघि पर्खाल भने सुरुमै लगाइएको भने बताए । उनले अनुमतीको प्रक्रिया अन्तीम चरणमा रहेको बताउँदै नियमसम्मत काम गरेको दावी गरे । बुधबार भएको छलफलमा कागजपत्र उपलब्ध गराउने गरी छलफल भएको र विहीबार कागजपत्र उपलब्ध गराउनेसमेत बताए ।

पौडेलले उक्त स्थानमा ६४ कट्ठा कम्पनिको जग्गा रहेको र केही लिजमा लिइएको बताउँदै नेपालकै आधुनिक फन पार्क बनाउन लागिएको बताए ।

उपमहानगरपालिकाको कदमबारे इटहरीवासीले भने मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सकारात्मक भनेका छन् भने केहीले पार्क, स्कुल आदिलाई अन्य व्यवशायिक संस्थालाई जस्तो कडिकडाउ गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

इटहरी उपमहानगरपालिकाले सरकारी र ऐलानी जग्गा मिचेर बनाइएका संरचना भत्काउने अभियान नै थालेको छ । यसअघि इटहरीको डीभीएम स्कुलले उपयोग गर्दै आएको जग्गा उपमहानगरपालिकाले आफू माताहत ल्याएको थियो ।