अनेरास्ववियूले गर्यो भारतविरुद्ध प्रदर्शन

Newslaya Home

अनेरास्ववियूले गर्यो भारतविरुद्ध प्रदर्शन

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै बुधबार अपरान्ह काठमाडौंमा प्रदर्शन गरेका हुन् । त्यसै क्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग खबरदारी समेत गरेका छन् । नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको अनेरास्वववियूका केन्द्रिय सदस्य टपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः गो व्याक इन्डिया’ जस्ता भारतविरोधी चर्का नाराबाजी गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ ।