कास्की–२ मा खेमराज पौडेल बने कांग्रेसबाट उम्मेद्धवार

Newslaya Home

कास्की–२ मा खेमराज पौडेल बने कांग्रेसबाट उम्मेद्धवार

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले खेमराज पौडेललाई उम्मेद्धवार बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको हो ।


आगामी मंसिर १४ मा देशका विभिन्न क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधि सभा सदस्य विहिन रहेको छ ।

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि चुनाव हुने एक मात्र क्षेत्र भएकाले निक्कै महत्वका साथ हेरिएको छ । यसअघि यस क्षेत्रमा कांग्रेसबाट पूर्व सभासद धनराज गुरुङको नाम निक्कै चर्चामा रहेको थियो । तर उनले सो क्षेत्रमा आफू नउठ्ने बताएपछि कांग्रेसका अग्रज नेता रहेका खेमराज पौडेलले टिकट पाएका हुन् ।

उता, नेकपाले भने उक्त क्षेत्रबाट स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेद्धवार बनाएको छ । यतिबेला अन्य साना दलले पनि उमेद्वारको टुंगो लगाएर सँगै चुनाव प्रचार प्रचारमा होमिएका छन् ।