स्याङ्जाको एक कुवामा बेवारिसे शव भेटियो

Newslaya Home

स्याङ्जाको एक कुवामा बेवारिसे शव भेटियो

बुधबार २०, कार्तिक २०७६

पाल्पा । स्याङ्जाको एक कुवामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

बुधबार बिहान कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरास्थित गौडाकुवामा एक पुरुष मृत अवस्थामा भेटिएको हो ।

गौडाकुवामा पुरुषको शव देखेपछि स्थानीयले बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली खटाइएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा कुवामा भेटिएको शव गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेक घर भएका ५० वर्षीय सोमबहादुर विकको रहेको प्रहरीले जनाएको छ ।

ज्याला मजदुरीको काम गर्दै बिक करिब १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बसोबास गरेका थिए ।
बिकको शव पोष्टमार्टमका लागि वालिङ लगिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।