भारतको नयाँ नक्सामा कालापानी भारतभित्रै परेपछि नेपालको प्रतिक्रिया यस्तो

Newslaya Home

भारतको नयाँ नक्सामा कालापानी भारतभित्रै परेपछि नेपालको प्रतिक्रिया यस्तो

बुधबार २०, कार्तिक २०७६

बिबिसि । नेपालको कालापानी समेत भारतीय भूभागमा पारिएको नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि नेपाली अधिकारीहरू यस बिषयमा अन्योलग्रस्त पाइएका छन् भने नेपाल सरकारले त्यसबारे अझै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेकपाका सांसद् भीम रावलले यसबारे धारणा बनाउन सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो देशको लागि अस्वीकार्य हुने उक्त बिषयमा नेपाल सरकारले तत्कालै गम्भीर रूपमा भारतीय पक्षसँग कुरा गर्नुपर्छ । आफ्नो भू–भाग मिचिनेगरी कुनै पनि मुलुकले एकतर्फी रूपमा नाक्सा कायम गर्ने कुराको नेपाल सरकारले आपत्ति जनाउनुपर्छ ।’

नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा बुझ्ने काम भइरहेको बताएको छ ।

नेपालको नापी विभागका अधिकारीहरूले कालापानी र सुस्ताको विषय परराष्ट्रसचिव स्तरीय संयन्त्रले हेर्ने भएकाले आफूहरूले प्रतिक्रिया जनाउन नसक्ने बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिले भने यसबारे सरकारले धारणा बनाउला भन्ने लागेकोले समितिले के गर्ने भन्नेबारे सोचिनसकेको बताइन् ।

समितिकी सभापति पवित्रा निरौलाले भनिन्, ‘सीमा निर्धारणका लागि सरकारबाट एउटा ठोस नीति निर्धारण भइ कार्यान्वयन हुनुपर्ने हाम्रो पुरानै धारणा हो ।’

संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू(कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले शनिवार नयाँ नक्सा जारी गरेको थियो ।