अपांंगता आकस्मिक हुन सक्छ, त्यसैले शहरलाई अपाङ्गमैत्री बनाऔं

Newslaya Home

अपांंगता आकस्मिक हुन सक्छ, त्यसैले शहरलाई अपाङ्गमैत्री बनाऔं

-रामु कार्की
बुधबार २०, कार्तिक २०७६

जीवन काँडा कि फूल ? यो प्रश्न अपांगता भएकी झमक घिमिरेको मात्र होइन, हामी सबैको मन र दिमागमा छ । जीवनको तितो, मिठो भोगाइले यो प्रश्न हर एकको लागि रहस्यमीको रुपमा महत्व राख्छ । कसैलाई अनुभव होला अनि कसैलाई नहोला त्यो भने फरक पाटो हो । हामी भविष्यका कल्पना गर्छौं, योजना बनाउँछौं । तर ती योजना र कल्पनालाई कुनै भवितव्यले बेकार बनाइदिन सक्छ । शारीरिकरुपमा अपांग बनाइदिन सक्छ ।

कतिपय मानिस ज्योतिषलाई भविष्य देखाएर ढुक्क हुन खोज्छन् । तर जन्म पश्चात बनाईने हाम्रो चिना बनाउने मान्छेलाई पनि थाहा छैन । उनीहरुले त ग्रहलाई दोष देखाउँदै आएका छन् र त्यो क्रम हाम्रो समाजमा चलि नै रहन्छ ।

हो, सवाल अपांगताकै हो ।

आज कोही सवलाङ्ग छन् त कोही विकलांग । कोही जन्मजात त कोही दुर्घटना र रोगका कारणले शारीरिक अपांग छन् ।

यि सबै विषयहरु मैले उठाईराख्दा आपङ्ग भन्दा पनि फरक क्षमता भएका व्यक्तिका सवालहरु हुन् । किनकी मानिस सर्वगुण सम्पन्न कहिले हुन सक्दैन । उसको चाहनाले पनि त्यो सीमालाई पहिल्याउन सक्दैन । तर हामी त्यही आकांक्षा राख्छौं । भयो भने त ठिकै छ, भएन भने पूर्ण जन्मलाई दोष लगाउँछौं । तर अपांगता पुर्व जन्मको अभिषाप होइन ।

यो सोँचलाई बदल्न आवश्यक छ । तर खाली अपाङ्गता भएका व्यक्तिले एकोहोरो सवाल मात्र उठाएर हुन सक्दैन । यसमा नागरिक समाज, बुद्धिजिवी, उद्योगी, व्यवसायी, राजनितिक दल, सरकार, प्रदेश सरकार, स्थानिय सरकार र आम जनताको पनि महत्वपूर्ण भुमिकाको आवश्यकता छ ।

आज हामी जब आफुलाई पर्छ, तब मात्र यस्ता विषयहरुलाई सोच्छौं । चिन्तन गर्छौं । तर अरुका समस्यालाई सितिमिती अनुभुती गर्न सक्दैनौं । यसको मतलब अपाङ्गता भएकाहरुको विषयमा आवाज उठेको छैन भन्ने होइन । तर त्यो आवाज निकै सानो छ । आफै पनि आवाज उठाउनुपर्ने आवश्यकता छ अनि यसमा आम नागरिकहरुको साथ पनि चाहिन्छ ।

किनकी आजका सवलाङ्ग भविष्यमा अपाङ्ग हुन सक्छन् । तर आजको समस्या भोलीको पिढिले भोग्न नपरोस भन्ने हो । उनीहरुमा घरबाट बाहिर गएर केही गर्न सक्छु भन्ने वातावरण बनोस् ।

 

खासगरी प्रतिभा विकास, रोजगारी, आधारभुत आवश्यकताको परिपूर्तीको क्षेत्रमा अपांगहरुलाई सहयोगको आवश्यकता छ । आज हामीले गर्न सक्यौँ भने भोली आउने पुस्ताले भवितव्यबाट अपांग हुँदा सहज रुपमा काम गर्न सकिन्छ भन्ने हो ।

यो सबै म आफू शारीरिक रुपमा अपांग छु भनेर भनेको होइन, बरु यो त सबैलाई पर्न सक्छ । मैले पनि केही वर्षअघिसम्म कहाँ सोचेको थिएँ र म कुनैदिन ह्वील चेयरमा हिड्छु भनेर तर भयो त्यस्तै । एउटा दुर्घटनामा मेरो ढाडको हड्डी भाँच्चियो, कामै नलाग्ने गरी । त्यसपछि म अहिले ह्वीलचेयरमा डुल्छु । तर मलाई न यहाँको बाटो सुरक्षित लाग्छ, न त यहाँका सरकारी कार्यालयहरु नै सहज लाग्छ । यहाँसम्म कि मैले प्रयोग गर्ने चर्पी नै पनि छैन ।

अपांगता भएका मानिसहरु समाजलाई चाहिँदैन भन्ने खालको सोँच विकास भएको छ । नीति निर्माण तह र सरकारी निकायले नै यो विषयमा ध्यान दिएको पाईँदैन । त्यसैले त सरकारले बनाएका संरचना र पूर्वाधारहरु अपांगमैत्री छैनन् । सडक, कार्यालय, शैक्षिक संस्था, सरकारी कामकाज हुने संस्थामा उपयुक्त संरचनाको अभाव हुँदा थप समस्या भोग्नु परिरहेको छ ।

सरकारले हरेक बर्ष विकास निर्माणका परियोजना ल्याएका छन, भवन सडक, पुल, कार्यालयजस्ता संरचना अपाङ्गमैत्री छन् त ? हरेक बर्ष अपाङ्गता भएको व्यक्तिका लागि विभिन्न शिर्षकमा बजेट विनियोजना हुन्छ । त्यसको पारदर्शीता खोई ? सरकारले प्रत्येक महिना दिने घोषणा गरेको छ, दिएको पनि छ । भत्ता लिन अपाङ्गताको कार्ड बनाउन भन्छ, सिफारिस लिन आऊ भन्छ तर त्यहाँसम्म पुग्नका लागि बाटो खै ? कार्यालयको सिँढी कसरी उक्लने ? चर्पीमा दिसापिसाब कसरी गर्ने ? यी सबै समस्याले गर्दा शारिरीक अपाङ्गता भएका व्यक्ति मानसिकरुपमा समेत पीडित भइरहेका छन् ।

त्यसैले नगरलाई अपांगमैत्री बनाउन निम्नलिखित प्रस्तावहरु उपयुक्त हुनुसक्छन् :
१. अपाङ्गमैत्री शहर इटहरीलाई देशको नमुना शहरको रुपमा परिणत गर्ने ।
२. अपाङ्गमैत्री आवश्यक पूर्वाधार, शौचालय, खेलकुद साथै प्रशिक्षण कार्यक्रम गर्ने
३. शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सामाजिक र मानसिक रुपमा प्रेरणा जगाउने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने ।
४. अपाङ्गमैत्री शौचालय सुलभ शौचालय हरेक कार्यलय र बजार क्षेत्रमा निर्माण गर्ने ।
५. अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अनुरुप हरेक कार्यलयमा सहभागि गराउन पहल गर्ने ।
६. सरकारी बजेट र अन्य दातृ संस्थाबाट प्राप्त अपाङ्गगता सम्बन्धि रकमको पारदर्शीता ।
७. अपाङ्गता भएका व्यक्तिको पहिचान खुलाउने विधान अनुसारको बर्गिकरण र सेवा सुविधाका बारेमा हरेक सरकारी कार्यलयमा र बजार क्षेत्रमा होडिङ्गबोर्ड व्यवस्था गर्ने ।