नेपाली चियाले पायो अन्तर्राष्ट्रिय ‘गोल्ड अवार्ड’

Newslaya Home

नेपाली चियाले पायो अन्तर्राष्ट्रिय ‘गोल्ड अवार्ड’

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियाले अन्तर्राष्ट्रिय गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार राजधानीमा एक कार्यक्रम गरी गोल्ड तथा सिल्भर अवार्ड नेपाली उद्योगीलाई हस्तान्तर गरेको छ ।

इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनाल तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयश खनालले संयुक्त रुपमा गोल्ड अवार्ड र सिल्भर अवार्ड नेपाली उद्यमीलाई हस्तान्तर गरेका छन् ।

बोर्डका निमित्त कार्यकारी निर्देशक खनालकाअनुसार चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट संकलन गरेको एक सय ९१ प्रकारका चियाको नमुनाबाट नेपाली चियालाई अवार्ड प्रदान गरेको हो ।