नेपाल पुलिस पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

Newslaya Home

नेपाल पुलिस पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

मङ्गलबार १९, कार्तिक २०७६

बिर्तामोड । सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवाल गोल गरेका हुन् ।

त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङले गोल गरेका हुन् ।

खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा पुराएको हो । प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको ३० औँ मिनेटमा पाएको फ्रिकिकमा उनले गोल गरेका हुन् । एपीएफका नविन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड टचमा हरि कार्कीले पनि हेड गोल गरेका हुन् ।

पुलिसले पहिलो खेलमा झापा ११ एफसीलाइृ २–१ गोलअन्तरमा पराजित गरेर टाइब्रेकर खेलेको हो भने एपीएफ बाइमा परेर सोझै क्वाटरफाइनल खेलमा प्रवेश गरेको टोली हो ।

१० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद रु.१२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।