जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था चाँडै गरिनेः मुख्यमन्त्री राई

Newslaya Home

जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था चाँडै गरिनेः मुख्यमन्त्री राई

मङ्गलबार १९, कार्तिक २०७६

धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताएका छन् ।

मंगलबार सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले जनतालाई सहज स्वास्थ्यसेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अघि बढाइएको बारे जानकारी गराएका हुन् ।

उनले प्रदेश सरकारले स्वस्थ नागरिकबाट नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताउँदै आगामी नीति तथा बजेटमा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी जनप्रतिनिधि र दक्ष कर्मचारीबाट स्वास्थ्य सेवा प्रदान गर्ने धारणा व्यक्त गरेका छन् ।

प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख, जनस्वास्थ्य कार्यालय, आयुर्वेद औषधालय सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष र निजी अस्पतालका प्रतिनिधिको सहभागिता रहेको गोष्ठीमा मुख्यमन्त्री राईले सरकारी स्वास्थ्य संस्थालाई आवश्यक पर्ने आधुनिक प्रविधि सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्षजनशक्ति, सर्वसुलभ औषधि सहज गरिने बताएका हुन् ।