कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका चारै जना मजदुर मृत फेला

Newslaya Home

कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका चारै जना मजदुर मृत फेला

मङ्गलबार १९, कार्तिक २०७६

काठमाण्डौ । बझाङको बुंगलमा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा आएको चार जनाको उद्धार टोलीले सुरुङ भित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो । थप एक जनाको शव मंगलबार दिउँसो निकालिएको जनाइएको छ ।

आइतबार सुरुङभित्र पसेका दैलेख जिल्लाको गुराँस गाउँपालिका–३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका– ६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो भने बझाङ जिल्ला बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुखले जानकारी दिएका छन् ।

सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर मृत्यु भएको जनाइएको छ ।