भारतमा एक महिला कर्मचारीलाई कार्यालयभित्रै जिउँदै जलाइयो

Newslaya Home

भारतमा एक महिला कर्मचारीलाई कार्यालयभित्रै जिउँदै जलाइयो

मङ्गलबार १९, कार्तिक २०७६

भारत । भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीलाई कार्यालयभित्रै जिउँदै जलाइएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भएको छ । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको आशंका गरेको छ ।

इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए ।’ घाइते कार चालकलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ ।