मोरङमा भएको दुर्घटनामा परी डाक्टर बुवा र नर्स छोरीको मृत्यु

Newslaya Home

मोरङमा भएको दुर्घटनामा परी डाक्टर बुवा र नर्स छोरीको मृत्यु

सोमबार १८, कार्तिक २०७६

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित शान्ति चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एउटै परिवारका बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको हो ।

शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । उनीहरु को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए ।

विराटनगरबाट खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्‍कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।