दैलेखमा चिनियाँको बेस क्याम्प

Newslaya Home

दैलेखमा चिनियाँको बेस क्याम्प

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका–१ को चुप्रामा बेसक्याम्प निर्माण गरेको छ । अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याप निर्माण गरिएको हो ।

क्याम्पमा नेपाली तथा चिनियाँ प्राविधिक र कामदार बस्ने व्यवस्थापन पक्षले जनाएको छ । अन्वेषणमा सहभागी कामदार र प्राविधिकका लागि टेन्ट र शौचालय, खाने–बस्ने ठाउँ बनाउने काम अन्तिम चरणमा पुगेकोे अन्वेषणको व्यवस्थापन गरिरहेको बिजिपी नेपालका कार्यक्रम संयोजक सूर्यमणि लामिछानेले बताए ।

दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्ने गरी व्यवस्थापन मिलाएको उनले बताए । दैलेखको दुल्लु नगरपालिकाको हस्पिटलनजिकको चौर र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखिएको हो । अहिले दुवै ठाउँमा आवास निर्माण कार्य द्रुत गतिमा चलिरहेको छ । चुप्रामा १२ वटा टेन्ट राखिएको छ रआवश्यकता अनुसार टेन्ट थपिने छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ । दैलेखको नारायण नगरपालिका–६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात् बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् । उनका अनुसार पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ ।

अन्वेषण अवधि तीन वर्षको रहने विभागले जनाएको छ । दोस्रो चरणमा अन्वेषण टोलीले तीन महिना त्यही ठाउँमा बसेर काम गर्नेछ ।