मृगौला दोस्रो पटक फेर्न कत्तिको सुरक्षित ?

Newslaya Home

मृगौला दोस्रो पटक फेर्न कत्तिको सुरक्षित ?

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । दुवै मिर्गौला पूर्णरुपमा बिग्रेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि डायलाइसिस गरिन्छ । मिर्गौला बिग्रने वा फेल भएपछि सुरुको अवस्थामा कृत्रिम तरिकाले मानिसको जीवन बचाउनका लागि डायलाइसिस गरिन्छ । त्यसपछि यदि मिर्गौला दान दिने मानिस छ भने प्रत्यारोपणको चरणमा जान सकिन्छ । तर छैनन् भने डायलाइसिस गरेर जीवन बचाउन सकिन्छ । सामान्यतया प्रत्यारोपण गरेको मिर्गौलाको आयु बढीमा १५ देखि २० वर्षसम्मको हुन्छ ।

कोही कसैमा २५ वर्षसम्म काम गरेको पनि देखिन्छ । तर मिर्गौला दिने मानिसको मिर्गौला कस्तो थियो भन्नेमा पनि भर पर्छ । अर्को भनेको मिर्गौला लिने मानिसले औषधी मिलाएर खाएको छ वा छैन, समयमा चेकजाँच भएको छ कि छैन त्यसमा पनि भर पर्छ । मिर्गौला प्रत्यारोपण गरेपछि पुनः फेल भयो भने तत्कालै मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन । त्यस्तो अवस्थामा अस्थायी रुपमा डायलाइसिस गरिन्छ । डायलाइसिस गर्दा पुनः प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन भनेर त्यस बिरामीको रगत परीक्षण गरिन्छ ।

रगतमा एन्टिबायोटिकको मात्रा कति छ । एन्टिबायोटिकको मात्रा धेरै छैन भने त्यस्तो अवस्थामा दोस्रोपटक प्रत्यारोपण गर्न सकिन्छ । दोस्रो प्रत्यारोपण गर्न नमिल्ने भन्ने हुँदैन तर पहिलो प्रत्यारोपण भन्दा दोस्रो प्रत्यारोपण गर्दा जोखिम भने बढी हुन्छ । मिर्गौला प्रत्यारोपण गरेको वर्षमा वा गर्नासाथ फेल भयो भने दोस्रोपटक प्रत्यारोपण गर्दा जोखिम बढी हुन्छ ।

प्रत्यारोपण कत्तिको सफल हुन्छ वा हुँदैन भन्न शरीरमा (प्यानल रियाक्टिभ एनटाईजन) पि.आर.ए को मात्रा रगतमा कति छ भनेर हेरिन्छ । यदि रगतमा (प्यानल रियाक्टिभ एनटाईजन) पि.आर.ए को मात्रा ९५ प्रतिशतभन्दा माथि भएमा राम्रो मानिँदैन । जसले नयाँ मिर्गौला फेरि बिग्रने डर हुन्छ । मिर्गौला प्रत्यारोपण गर्ने मानिसको भन्दा डायलाइसिस गर्ने मानिसको आयु कम हुन्छ ।