इतिहासमै पहिलो पटक टी–२० क्रिकेटमा भारतविरुद्ध बंगलादेशको जित

Newslaya Home

इतिहासमै पहिलो पटक टी–२० क्रिकेटमा भारतविरुद्ध बंगलादेशको जित

सोमबार १८, कार्तिक २०७६

दिल्ली । बंगलादेशले टी–२० क्रिकेटमा भारतविरुद्ध पहिलो जित निकालेको छ । तीन टी–२० र २ टेस्ट खेल खेल्न भारतमा रहेको बंगलादेशले आइतबार भएको पहिलो टी–२० खेलमा भारतमाथि ७ विकेटको सानदार जित निकालेको हो ।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्न दिएको थियो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । १४९ रनको लक्ष्य पाएको बंगलादेशले १९.३ ओभरमा १५४ रन बनाउँदै ऐतिहासिक जित दर्ता गर्‍यो ।

कप्तान विरराट कोहलीका अनुपस्थितिमा रोहित शर्माको कप्तानीमा बंगलादेशविरुद्ध उत्रिएको भारतीय टोलीका लागि ओपनर शिखर धावनले सर्वाधिक ४१ रन बनाए । कप्तान रोहित शर्मा ९ रनमा आउट भए । धावनपछि ऋषव पन्तले २७, श्रेयस इयेरले २२ रन बनाए ।

बंगलादेशका अमिनुल इस्लाम र शाफिल इस्लामले भारतको २–२ विकेट लिए । अफिफ हसनले पनि ३ ओभरमा जम्मा ११ रन दिएर १ विकेट लिए ।

मध्यम स्कोरको लक्ष्य पाएको बंगलादेशले राम्रो सुरुवात गर्न सकेको थिएन । पहिलो ओभरमा ८ रन मात्र बनाएको थियो । ८औं ओभरमा ५४ रन हुँदा दोस्रो विकेट गुमाएको बंगलादेशका लागि सौम्य सरकार र मुष्फिकुर रहिमले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेपछि जित सहज बनेको हो । रहिमले ४३ बलमा नट आउट ६० रन बनाए । सरकार ३९ रन बनाएर आउट भए ।

बंगलादेशले हालसम्म भारतसँग ९ खेल टी–२० प्रतियोगिता खेल्दा पहिलो जित निकालेको हो । भारतसँग पहिलो भेट भएको करिब साँढे १० वर्षपछि बंगलादेश इतिहास तोड्न सफल भएको छ ।