दिल्लीको वायु गम्भीरभन्दा पनि ज्यादा खराब

Newslaya Home

दिल्लीको वायु गम्भीरभन्दा पनि ज्यादा खराब

आइतबार १७, कार्तिक २०७६

बिबिसी । भारतको दिल्लीमा अत्यधिक हावा प्रदूषण भएपछि जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। भारतको सुप्रिम कोर्टद्वारा गठन भएको प्यानल इपिसीएले जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

आपतकाल घोषणासँगै सरकारले पाँच नोभेम्बरसम्मका लागि सबै विद्यालय पनि बन्द गर्ने आदेश दिएको छ। यसका साथै मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन पनि भनिएको छ। निजी सवारीसाधन पनि कम प्रयोग गर्न सल्लाह दिइएको छ। साथै सरकारले फोहर नजलाउन पनि जनतासँग आग्रह गरेको छ। सबै प्रकारका निर्माण कार्य पनि तत्कालका लागि रोक्न निर्देशन दिइएको छ।

हावाको गुणस्तरलाई एयर क्लालिटी इन्डेक्सबाट नापिन्छ। यदि एयर क्लालिटी इन्डेक्स ० देखि ५० को बीचमा भए राम्रो मानिन्छ। ५१ देखि १०० बीचमा भए सन्तोषजनक मानिन्छ। १०१ देखि २०० को बीचमा भए औसत र २०१ देखि ३०० को बीचमा भए खराब, ३०१ देखि ४०० को बीचमा भए निकै खराब र ४०१ देखि ५०० को बीचमा भए गम्भीर मानिन्छ।

दिल्लीमा धेरै ठाउँमा वायुको गुणस्तर ५०० भन्दामाथि मापन गरिएको छ। आँखाले देख्न नसकिने हावामा तैरिने मसिना कणले सास फेर्न कठिन बनाउँछन्।