जापानमा बढ्दैछन् खाली घर, बस्ने मान्छे छैनन्

Newslaya Home

जापानमा बढ्दैछन् खाली घर, बस्ने मान्छे छैनन्

आइतबार १७, कार्तिक २०७६

बीबीसी । देशको २० प्रतिशत जनसङ्ख्या ७० वर्ष माथि उमेरको छ भने जन्म दर लगातार घट्दै गइरहेपछि जापानमा घरजग्गा सम्बन्धी ठूलो समस्या देखिएको हो । अहिले त्यहाँ मान्छे भन्दा धेरै घरहरु छन् । जसले ‘भूतिया घर’ अर्थात मानिसहरुले छोडेर गएका खाली घरहरुको सङ्ख्या बढाइदिएको छ ।

कम जनसङ्ख्या पछिल्लो समय धेरै विकसित राष्ट्रहरुको समस्या बनिरहँदा ती मध्येमा पनि जापानको अवस्था सबैभन्दा चिन्ताजनक मानिएको हो । २०१८ मा त्यहाँ हालसम्मकै कम बच्चाको जन्म भएको तथ्याङ्कले देखाएको छ । यस्तोमा जन्म भन्दा धेरै मृत्यु दर रहेको पाइएको हो । जसबीच घरको माग पनि कम हुन जान्छ । ‘अकिया’ नाम दिइएका ती घरका कुनै मालिक र भाडामा बस्ने पनि नभएपछि वर्षौँसम्म खाली रहने गरेका छन् । यस्तोमा २०१८ मै आकिया सम्पत्तिको सङ्ख्या इतिहासकै धेरै १३।८ प्रतिशत पुगेको हो । वास्तवमा आफन्तहरुले दुईवटा घरको कर तिर्नुपर्ने हुने भएकाले पनि अकिया घरहरुलाई बेवास्ता गर्ने गरेका छन् अर्कोतर्फ जनसङ्ख्या थोरै भएकै कारण ती घरमा बस्न सक्ने नागरिकहरुको कमी छ ।

अकिया घरहरु प्रायः ग्रामीण क्षेत्रमा रहेकाले पनि नयाँ पीढीहरु त्यसलाई त्याग्दै शहरतिर बसोबास गर्ने गर्दछन् । यसरी रोजगारी र नयाँ अवसरहरुको खोजीमा जनसङ्ख्या ग्रामीण क्षेत्रबाट शहरमा स्थानान्तरण हुने क्रम जहिँतहिँ तिव्र भइरहेको छ । त्यसैले घरको माग पहिले नै कम रहँदै आएका ग्रामीण क्षेत्रमा घरजग्गाका व्यापारीहरु पनि अकियाको जिम्मा लिन चाहँदैनन् ।

पछिल्लो समय त्यस्ता घरहरुलाई अकिया बैंकमा समावेश गरिएपनि पुनःनिर्माण गर्न गर्न सरकारी निकायहरु असफल भइरहेका छन् । घरको मालिक नै थाहा नभएपछि तिनीहरुबाट स्वीकृति नलिइ काम अगाडि बढाउन नसकिने बताइएको छ । यस्तोमा प्राकृतिक प्रकोपको समयमा ती घरहरु बोझ नबनून भनेर स्थानीय परिषदहरु ठूलो दबाबमा छन् । अकिया घरहरु दशकौँ पुराना हुने हुँदा ताइफुन र भूकम्पबाट सजिलै भत्किन सक्छन् । त्यसैले तिनमा क्षति पुगेमा त्यस वरपरको सरसफाइ र व्यवस्थाको जिम्मा बाध्यतापूर्वक अरुले नै उठाउनुपर्ने हुन सक्छ ।

यता आकुतामाको ग्रामीण क्षेत्रमा पनि उत्तर–पश्चिम शैलीको एउटा शान्त पहाडी भेगमा पर्ने शहर, राजधानी टोकियो भन्दा दुईघण्टाको दुरीमा छ । चार वर्ष अगाडि आकुतामा परिषदको युवा पुनरोद्धार विभागले एउटा नयाँ कार्यक्रम सुरु गरेको थियो जसमा उत्तराधिकारीले छाडेका अकिया घरको उपयोग गर्न विभिन्न नीति अपनाइएको थियो । यसमा ती घरमा भाँडामा बस्न आउने नयाँ परिवारले थोरै मासिक भुक्तानमै त्यहाँ बस्न पाउँछन् र १५ वर्षपछि सो घर तिनकै नाममा गरिने र विगतमा भुक्तान गरिएको रकम समेत फिर्ता गरिने व्यवस्था रहेको छ । यसले सम्पति करमा थोरै भएपनि योगदान पुर्याउने गरेको थियो भने बाँकी आर्थिक जिम्मा परिषदले लिने गरेको थियो ।

तर ती घरलाई मरम्मत गर्नेदेखि १८ हजार डलरसम्मको अतिरिक्त भत्ताको सेवा प्रदान गरिएपनि आकुतामा त्यहाँ बस्न सक्ने नयाँ पििरवारको खोजी गर्न संघर्ष गरिरहेको छ । परिषदका अनुसार हालसम्म सातजना परिवार मात्र अकिया घरमा बसोबास गर्न आएका छन् ।

टोयो युनिभर्सिटीका विज्ञान तथा इन्जिनियरिङ प्रोफेसर डाक्टर चि नोज्वाले अनुमान गरेअनुसार ठूल्ठूला शहरका भूभागमा समेत अकिया घरको समस्या बढ्दै जानेछ । यसको अर्थ ती साना शहरमा अवस्थित यस्ता छाडिएका भवनहरुको भविष्य सरकारी निकायमै निर्भर छ जसले प्रभावकारी नीति अपनाएमा मात्र यो समस्या समाधान गर्न सक्नेछन् । नोज्वा भन्छन्, “नयाँ पीढीलाई त्यहाँसम्म पुर्याउन सबै समाधानहरु कार्यन्वयन गरिनुपर्छ नत्र घट्दो जनसङ्ख्यासँगै गाउँ र शहरका घरहरु झन खालि हुँदै जानेछन् ।