"क्रिकेटमा यसरी लागेछु कि विदेशीनुको विकल्पै भएन" : क्यान सुनसरी अध्यक्ष

Newslaya Home

"क्रिकेटमा यसरी लागेछु कि विदेशीनुको विकल्पै भएन" : क्यान सुनसरी अध्यक्ष

शनिबार १६, कार्तिक २०७६

इटहरी । सुनसरी क्यान अध्यक्ष चेतनाथ पौडेल (सीपी पौडेल) अहिले केही बेरमा कतारको लागि उड्दैछन् । प्लेनको टिकटले उनलाई डो¥याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको छ । टिकटमा उनको प्रस्थान समय लेखिएको छ, ‘शनिबार राती १०:२५ बजे ।’

इटहरीमा रहेर लामो समयदेखि क्रिकेटका विभिन्न खेल प्रतियोगिताहरु गराउँदै आएका उनको विदेश पलायनबाट इटहरीले मात्र नभएर देशले नै एउटा खेल साधक गुमाएको छ । पौडेल कुशल खेल व्यवस्थापक हुन् । उनले स्थानीयसँगै राष्ट्रिय खेल प्रतियोगिताहरुसमेत गराए ।

‘क्रिकेट भनेपछि आफ्नै खर्च गरेर ज्यान दिएर लाग्ने मान्छे हो वहाँ,’ इटहरीका अर्का खेल प्रेमी युवा आशीष कार्की भन्छन्, ‘वहाँ नहुँदा इटहरीमा क्रिकेट प्रतियोगिताहरु गराउने मान्छे नै कोही छैन ।’

पौडेलले आफ्नो जीवनको १५ वर्ष क्रिकेटमा खन्याए । इटहरी कप टी २० का तीन वटा संस्करण, अण्डर १९ क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण, प्रधानमन्त्रीकप महिला क्रिकेट, सातौं राष्ट्रिय खेलकुद महिला क्रिकेट प्रतियोगिताको आयोजक, व्यवस्थापक भएर उनले रात दिन क्रिकेटमा समय लगाए ।

सुरुमा खेलाडी भएर ब्याट समाएका उनले पछि अरु खेलाडीहरुलाई ब्याट उपलब्ध गराउँथे । नयाँ खेलाडीलाई तालिम दिनेदेखि राष्ट्रिय स्तरका प्रतियोगिता गराउनेसम्मका काममा उनी सक्रिय थिए । खेल्न भन्दा व्यवस्थापनमा सक्रियता जनाए । क्रिकेटको संस्थागत विकासका लागि उनी योजना बनाउन र दिनरात कुद्नमै व्यस्त थिए ।

तर यो सक्रियताले उनको परिवार पाल्ने सपोर्ट भने दिएन ।

अभावले पिरोल्दै गएपछि उनको दिमागबाट १५ वर्षदेखिको क्रिकेटको नशा उत्रिँदै आयो ।

‘क्रिकेटमा यसरी लागिएछ कि आफ्नो भागको अंशसमेत क्रिकेटमा खन्याएर सकिएछ,’ विदेश जाने निर्णय गर्दै गर्दा उनी झसंग भए । पेशा व्यवशाय गर्ने पैसा पनि नभएपछि विकल्पै नभएर उनी विदेशीएको बताउँछन् ।

‘खेलमा लागेकोलाई हेर्ने कुनै संस्था रहेनछ,’ उनले भने, ‘आफू दह्रो भएर खेल चाहिँ पार्ट टाइम गर्नुपर्दो रहेछ, मैले जानिनँ ।’ उनी खेल संस्थाहरुबाट विरक्तिएको समेत बुझ्न सकिन्थ्यो ।

क्यानमा अझै दुई वर्ष उनको कार्यकाल बाँकी नै छ । वर्तमान उपाध्यक्ष कैलाश विष्टलाई कार्यवाहक पद दिएर उनी कतार उड्दैछन् । पौडेलले जाँदा जाँदै न्युजलयसँग इटहरीको क्रिकेटकै विषयमा चिन्ता व्यक्त गरे । भने, ‘प्रतियोगिता भइरहोस्, तीन चार वर्षपछि फर्केर आउँदा इटहरीकै रंगशालामा बसेर क्रिकेट हेर्न पाउँ ।’

1 प्रतिकृयाहरू प्राप्त
  • Pradeep Regmiलेख्नुहुन्छ
  • |
  • सोमबार १८, कार्तिक २०७६
मेरो देशको अवस्था, खै के भन्नू.... खेलाडि भएर खेलमा मात्रै लाग्नु भयो, राजनीतिमा लाग्नुभएन होला... परिणाम शुन्य । भाइ ले पस्कनुु भएको अभिव्यक्तिमा सम्बन्धित निकायको ध्यानाकर्षण र नयां खेलाडि भाईबैनिहरुका लागि मार्गनिर्देश होस । शुभकामना । खेलको जय होस ।