तराईवासीको मात्र पर्व रहेन छठ, जोड्दैछ समुदाय

Newslaya Home

तराईवासीको मात्र पर्व रहेन छठ, जोड्दैछ समुदाय

शनिबार १६, कार्तिक २०७६

इटहरी । इटहरी ८ की राधा पौडेल मधेस बाहुल्य इनरुवामा हुर्किन्, बढिन् । त्यहाँ आफन्त र छिमेकीहरुले छठ मनाएको देखेरै उनले पनि ब्रत लिन थालिन् । १४ वर्षयता उनी छठको ब्रत लिइरहेकी छिन् ।

सानिमाले पुजा गर्दा र ब्रत लिँदा ठेकुवाहरु पकाउन सघाइदिन्थ्यौं, खोलामा पनि सँगै जान्थ्यौं,’ उनले भनिन् । ३७ वर्षिया पौडेलसँगै उनकी दुई जना दिदीहरु पनि वर्षेनी छठमा तीन दिन ब्रत बस्छन् । छठको ब्रत कडा हुने हुँदा जो कोहीले लिन नसक्ने उनी बताउँछिन् ।

दुई तीन वर्षअघिसम्म इनरुवा नै पुगेर ब्रत बस्ने गरेपनि आजकाल भने छठ मान्नको लागि उनी खनारस्थित दिदीको घर जान्छिन् । त्यहीँ नहरमा बनाइएको घाटमा बसेर अस्ताउँदो र उदाउँदो सुर्यलाई अघ्र्य दिन्छिन् । छठ तराईवासीहरुको पर्व हो । तराईमा पनि सिमित समुदायले मनाउने गरेको छठ पछिल्लो समय भने दशैं, तिहार जस्तै सबै नेपालीको पर्व बन्दै आएको छ । साँस्कृतिक घुलनको यो निकै अनुपम नमुना बनेको छ ।

थारु, चौधरीहरुको पनि पर्व होइन छठ, । तर समुदायका कारण एकले अर्काको पर्व मनाउने र संस्कृति अबलम्बन गर्ने क्रम बढेको इटहरीका रघु चौधरी बताउँछन् । भन्छन्, ‘अहिले त थारु, चौधरी, राई लिम्बु, पहाडे बाहुन क्षेत्री सबैले मनाउँदैछन् ।’

चौधरीको घर नजिकैको पोखरीमा घाट बनाएर हरिजन समुदायले समेत छठ मनाउँछ । हरिजन समुदायलाई तल्लो जातका रुपमा हेय दृष्टिकोणले हेरिन्छ । तर छठको लागि हरिजन, बाहुन, क्षेत्री, राई लिम्बु, सबै समुदाय एउटै पोखरी, खोलामा घाट सजाएर बस्छन् । इटहरीस्थित छठ व्यवस्थापन समितिका सचिव वासु कर्ण भन्छन्, ‘यसले जातीय विभेदलाईसमेत निरुत्साहित गरेको छ ।’

प्रकाशपुर मंगलवारेका उमेश राई पनि यो वर्ष छठ पुजा गर्दैछन् । वरपरका सबैले मनाएको देखेपछि उनलाई छठ मनाउन मन लागेको बताउँछन् । उनी पनि अरु जस्तै ब्रत लिएर सुर्यलाई अघ्र्य दिन्छन् । भन्छन्, ‘हाम्रो परिवारको लागि यो त चलनै भइसक्यो ।’

छठको तयारी पुरा
सुनसरीका विभिन्न खोला, नहर तथा पोखरीहरुमा छठ पुजाको लागि घाट बनाउने काम लगभग पुरा भएको छ ।
इटहरी, इनरुवा, दुहबी लगायतका स्थानमा स्टल बनाउने र आवश्यक विद्युत् व्यवस्थापनलगायतका तयारी पुरा भएको सम्बन्धित छठ आयोजक समितिले जानकारी दिएको छ ।

सुनसरीको इटहरी र मोरंगको सुन्दरहरैंचाको सीमानामा पर्ने बुढी खोलामा छठ मनाउनको लागि ४२५ वटा स्टल बनाइएको छ । यो पटक त्यहाँ सुर्यदेवताको स्थायी मन्दिर नै निर्माण गरीएको र उद्घाटनको तयारी गरिएकोछ । यस्तै इनरुवावासीले सुनसरी खोलामा छठ पर्व मनाउने तयारी गरेका छन् भने दुहबी नगरवासीले बुढी खोलामा छठ मनाउने तयारी पुरा गरेका छन् ।