नेपाल आयल निगमको आर्थिक सहयोगमा हलेसीमा धर्मशाला बनाईने

Newslaya Home

नेपाल आयल निगमको आर्थिक सहयोगमा हलेसीमा धर्मशाला बनाईने

शनिबार १६, कार्तिक २०७६

काठमाण्डौ । खोटाङको धार्मिक स्थल हलेसीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावम्बीको सङ्गमस्थल हलेसीमा नेपाल आयल निगमको पाँच करोड आर्थिक सहयोगमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको हो ।

नेपाल आयल निगमको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमबाट निर्माण गरिने धर्मशालाका लागि शुक्रबार नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाबीच सम्झौता भएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरिने धर्मशालाका लागि पहिलो किस्ताबापत रु दुई करोड रकमसमेत शुक्रबारनै नेपाल आयल निगमले नगरपालिकाको खातामा जम्मा गरिदिएको जनाइएको छ ।

हलेसीस्थित गुराँसेमा निर्माण गरिने धर्मशालाका लागि नगरपालिकाले यसअघि नै १८ रोपनी जग्गा निःशुल्क व्यवस्था गरेको थियो । पछिल्लो समय दर्शनार्थी र भक्तजनको निक्कै भीडभाड हुने हलेसीमा यसअघि निर्माण गरिएको धर्मशाला पुरानो र सानो भएपछि सुविधा सम्पन्न धर्मशाला निर्माणको पहल थालिएको हो ।