पाथीभरा मन्दिरमा संकलित सुन र चाँदी बिक्रि गरिने

Newslaya Home

पाथीभरा मन्दिरमा संकलित सुन र चाँदी बिक्रि गरिने

शनिबार १६, कार्तिक २०७६

ताप्लेजुङ । २०७५ सालको साउन देखि २०७६ सालको असोज मसान्त सम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको ४५ तोला भन्दा बढी सून र १० किलो चाँदी बिक्री गरिने भएको छ ।

पाथीभरा देवी मन्दिर भेटिपाति व्यवस्थापन समिति अर्न्तगत सुन चाँदी व्यवस्थापन उपसमितिले शुक्रबार भक्तजनले चढाएको सुन र चाँदीलाई प्रचलित मूल्यमा बिक्री गर्ने निर्णय गर्दै सुन बिक्रीका लागि सात दिने सार्वजनिक सूचना आवहन गरेको छ ।

सुन चाँदी व्यवस्थापन उपसमितिका अन्तरिम संयोजक तथा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपानेले सुन खरिद गर्न ईच्छुक व्यक्ति तथा व्यवासायिक संस्थाहरुलाई कात्तिक २२ गते मध्यान्ह १२ बजे भित्र भेटिपाति व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।

उप समितिले ४१ तोला ५ लाल जोखिएको सुनसहित आम्दानी बाँधेर राखेको कण्ठ, जन्तर र छड्के तिलहरीलाई बिक्रीमा लैजाने छ । चाँदीको परिणाम भने जोखेर यकिन गरिएको छैन ।

संकलनका बेला तयार गरिएको मुचुल्काका आधारमा आम्दानी बाँधेर राखिएको र भेटिपाति व्यवस्थापन समितिका पदाधिकारीको रोहवरमा जोखेर कूल परिणाम निकाल्ने तयारी गरिएको न्यौपानेले बताए ।