वराहक्षेत्र मन्दिर क्षेत्रमा माछामासु र मदिराको बिक्रीमा रोक

Newslaya Home

वराहक्षेत्र मन्दिर क्षेत्रमा माछामासु र मदिराको बिक्रीमा रोक

शनिबार १६, कार्तिक २०७६

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरपरिसर क्षेत्रमा माछामासु र मदिराको बेचबिखनमा रोक लगाइएपछि स्थानीय व्यापारीले त्यसको विरोध गरेका छन् ।

बराहक्षेत्र नगरपालिकाको धार्मिक मठमन्दिर रहेको ५ सय मिटर क्षेत्रमा विशेषगरी चतरा र बराह भगवानको मन्दिरको पाँच सय मिटर छेउछाउ माछामासु र मदिराजन्य वस्तुको बिक्री वितरणमा रोक लगाई कार्यान्वयन गरिएसँगै व्यवसायीले त्यसको विरोध गरेका हुन् । केही महिनाअघि मात्र वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभाले निर्णय पारित गर्दै मन्दिर क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्रीमा कडाइका साथ रोक लगाउने निर्णय गरेको थियो ।

तर निर्णय कार्यान्वयन गराउने विषयमा वडाध्यक्ष सुरेश श्रेष्ठ र नगरप्रमुख निलम खनालबीच विवाद भएको थियो । निर्णयको धेरै समयपछि मात्र कात्तिक ६ गतेबाट प्रहरी चौकीले माछामासु र मदिराको खुल्ला बिक्रीमा कडाइका साथ रोक लगाएको थियो । धनकुटाबाट बराहक्षेत्र बजारमा बेच्न ल्याइएको करिब सय लिटर घरेलु मदिरा जफत गरेको असइ भीमबहादुर भुजेलले बताए । उनले दैनिक रूपमा बजार अनुगमन गर्ने गरेको बताए ।

यता स्थानीय व्यापारी कुमार र महेश श्रेष्ठले भने नगरपालिकाले हतारमा निर्णय गरेको भन्दै रोष प्रकट गरेका छन् । एकातिर राज्यले मदिरा बिक्री गर्ने लाइसेन्स दिने र अर्कोतिर कर पनि असुल्ने अनि एक्कासि मदिरा बिक्री नगर्नू भनी रोक पनि लगाउने गरेको भन्दै स्थानीय व्यवसायी आक्रोसित छन् ।

उनीहरूले आफूहरू पनि धार्मिक मठमन्दिर क्षेत्रमा माछामासु तथा मदिराको बिक्रीमा रोक लगाउने पक्षमा रहेको तर त्यसको वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् ।