वनभोज खाएर फर्किँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु

Newslaya Home

वनभोज खाएर फर्किँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु

शुक्रबार १५, कार्तिक २०७६

दाङ । देउखुरीमा वनभोज खाएर फर्कँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे तीन बजे जिल्लाको गढवा गाउँपालिका–६ मनिकापुरका वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टरमा सवारहरू गढवा ५ कोईलाबासमा दुर्घटनामा परेका हुन् ।

तीव्रगति र अत्यधिक यात्रु रहेकाले अनियन्त्रित भइ गढवा–कोईलाबास सडक खण्डमा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा ट्याक्टरमा सवारमध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीय सीमा परियार र सुनिता परियार रहेका छन् ।

ट्याक्टरमा सवार कुल २६ जना मध्ये अन्य २३ जना घाइते भएका छन् । दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । यस्तै अन्य १९ जनाको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।