सामा चकेवा पर्व सुरू

Newslaya Home

सामा चकेवा पर्व सुरू

बुधबार १३, कार्तिक २०७६

लहान । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवा सुरु भएको छ । पर्वअन्तर्गत आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको हो ।

यो पर्व दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।

सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् ।

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ ।