डीभी भर्नेको भीड, समयमै भर्न अमेरिकी सरकारको अनुरोध

Newslaya Home

डीभी भर्नेको भीड, समयमै भर्न अमेरिकी सरकारको अनुरोध

सोमबार ०४, कार्तिक २०७६

काठमाडौं । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नेको भीड बाक्लिएको छ ।

अमेरिकाले डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनहरुको लाइन पनि उत्तिकै छ । डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि भीड बढेको हो ।

भीड बाक्लो भएपछि अमेरिकी सरकारले डीभी समयमै भर्न सुझाब दिएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारले विशेष अनुरोध गरेको हो ।

डीभी भर्ने समयसीमा नेपाली समयअनुसार नोभेम्बर ५ (कार्तिक १९ गते) मंगलबार बेलुका पौने १० बजेसम्म रहेको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डीभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ ।