यात्रुबाहक बसमा चोरी गर्ने दुई महिला प्रहरी नियन्त्रणमा

Newslaya Home

यात्रुबाहक बसमा चोरी गर्ने दुई महिला प्रहरी नियन्त्रणमा

सोमबार ०४, कार्तिक २०७६

झापा । प्रहरीले झापाको काँकडभिट्टाबाट विर्तामोड चल्ने बसमा यात्रा गर्ने क्रममा यात्रुको पैसा चोरी गर्ने दुई जना महिलालाई पक्राउ गरेको छ । भारत पानी ट्याङकी घर बताउने २५ वर्षीया पूजा गुल्ठा र कविता मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई अर्जुनधारा नगरपालिका २ की विमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुपैयाँ चोरी गरेको आरोप लागेको छ । दिउँसो पौने २ बजेको समयमा मेचीनगर नगरपालिका १३ स्थित चारआली चौकमा पुगेपछि आफूसँग भएको पैसा चोरी भएको थाहा भएपश्चात प्रहरी चौकी चारआलीमा पीडितले उजुरी गरेकी थिइन् ।

उजुरीपछि खोजतलास तथा चेकजाँच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिकबाट काँकडभिट्टातर्फ टेम्पोमा चढेर जान लागेको अवस्थामा ती दुई महिलालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

उनीहरुको झोलाबाट चोरिएको एक लाख रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ ।