समाजवादीबाट प्रमुख पदमा गजेन्द्र इस्वो उम्मेदवार

Newslaya Home

समाजवादीबाट प्रमुख पदमा गजेन्द्र इस्वो उम्मेदवार

सोमबार ०४, कार्तिक २०७६

धरान । समाजवादी पार्टीले धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि गजेन्द्र इस्वोलाई उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला, प्रदेश तथा केन्द्रका नेता र सल्लाहकार समेतको बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रमुख पदको उम्मेदवारमा इस्वोलाई सर्वसम्मतले निर्णय गरेको हो ।

धरानमा समाजवादी नेकपा र कांग्रेस पछि तेश्रो शक्तिको रुपमा रहेको छ । समाजवादीले इस्वोको नाम सिफारिस गरेपछि कांग्रेसले समाजवादीसँग गठबन्धन गर्ने सम्भावना समाप्त भएको समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बुले बताए ।

पार्टीको बैठकले कांग्रेससँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने सुझाव र दबाब दिएपछि इस्वोको नाम सर्वसम्मत गरिएको थियो ।

इस्वो पूर्व एमालेका कार्यकर्ता मात्र नभएर व्रिटिस गोर्खा सैनिक संघका गेसोका केन्द्रीय सदस्य, धरानका दर्जन बढी सामाजिक संघसंस्थामा आवद्ध सक्रिय समाज सेवीका रुपमा चिनिन्छन् ।

पार्टीले सर्वसम्मत उम्मेदवार घोषणा गरेपछि इस्वोले भने, ‘धरानमा समाजवादीको मत नेकपा र कांग्रेसको जति नभएपनि तठस्थ मत धेरै छ । सुकुम्बासी समुदायका मत पनि अत्यधिक छ । त्यस्तै गोर्खा भूपू सैनिक परिवारका मत पनि उलेख्य छ । तिनै तठस्थ मत, सुकुम्बासी र गोर्खा भूपु सैनिक परिवारका मत ६० प्रतिशतमात्र पाएं भने मलाई धरानको मेयर भएर विकास निर्माण गर्ने अवसर प्राप्त हुने छ ।’ पार्टीले निर्वाचन परिचालन समिति गठन गरेर चुनावी अभियान तीब्र बनाउन घरदैलो गर्न थालेको छ ।