कश्मीरको विषयमा विवाद हुँदा मोदीको टर्की भ्रमण रद्द

Newslaya Home

कश्मीरको विषयमा विवाद हुँदा मोदीको टर्की भ्रमण रद्द

आइतबार ०३, कार्तिक २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ।

भारत सरकारले जम्मू कश्मीरलाई राज्यको दर्जाबाट हटाएर दुई केन्द्रशासित प्रदेश बनाएको विषयलाई लिएर टर्कीले लिएको ’स्टयान्ड‘ का कारण दुई देशबीचको सम्बन्ध चिसिएको हो ।
भारतका लागि टर्कीका राजदूत साकिर ओजकनले भने मोदीको भ्रमण रद्द भएकोमा दुःख जनाउँदै भ्रमणका लागि नयाँ मिति सार्वजनिक हुने बताएका छन् । कश्मीर मुद्दामा चीनले समेत पाकिस्‍तानको समर्थन गरेको तर चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गरेको उल्लेख गर्दै राजदूत साकिरले कश्मीर मुद्दामा टर्कीको ‘स्ट्यान्ड’का कारण मोदीको भ्रमण रद्द भएकोमा समेत प्रश्न उठाएका हुन् ।
अनादोलु शिपयार्डसँगको सम्‍झौता रद्द हुनुलाई व्यावसायिक मुद्दा बताउँदै साकिरले टर्कीका राष्ट्रपति एर्डोगान र भारतका प्रधानमन्त्री मोदीबीच भएको सबै भेटमा मेक इन इन्डियाको बारेमा चर्चा हुने गरेको बताउँदै आउने दिनमा सबै ठीक हुने अपेक्षा व्यक्त गरे।

२४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसिप तैय्यप एर्डोगानले भारतको संविधानमा जम्मू कश्मीरलाई विशेष अधिकारको ग्यारेण्टी गरेको धारा ३७० हटाएको मुद्दा उठाएका थिए ।

यस्तै उनले फाइन्यान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) मा समेत पाकिस्तानलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
एर्डोगानको यो कदमको भारतले कूटनीतिक रुपमा नै जवाफ फर्काएको थियो । केही समयअघि टर्कीले सिरियाको कुर्दिस समूहमाथि आक्रमण गरेको बेला भारतले टर्कीको आलोचना गर्दै सिरियाको सार्वभौमसत्ताको रक्षा हुनुपर्ने बताएको थियो।