भोजपुरमा एक महिलाको विभत्स हत्या

Newslaya Home

भोजपुरमा एक महिलाको विभत्स हत्या

आइतबार ०३, कार्तिक २०७६

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई भने गम्भीर घाइते भएकी छन् ।

उनीहरुमाथि शनिबार साँझ षडानन्द नगरपालिका–२ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।