१६ जना विदेशीलाई नागरिकता दिने ६ जना पक्राउ

Newslaya Home

१६ जना विदेशीलाई नागरिकता दिने ६ जना पक्राउ

मङ्गलबार २८, असोज २०७६

झापा । जिल्ला प्रहरी कार्यालय झापाले १६ जना विदेशीलाई नागरिकता दिएको आरोपमा जनप्रतिनिधिसहित ४६ जनालाई भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । विदेशीलाई नागरिकता दिएको आरोपमा ४६ जना मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई वडा अध्यक्ष सहित ४० जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, बिर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर नगरपालिका–१० का प्रेम तिम्सिना, भद्रपुर–१० धनुषमोडका बिकेन्द्र भन्ने भीमबहादुर लिम्बु र बिर्तामोड–५ का मुस्तफा आलम पक्राउ परेका छन् । पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

हाल पक्राउ पुर्जी जारी भएका र फरारको सूचीमा रहेकाहरु बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशी, जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, भद्रपुर नगरपालिका–९ का वडासचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने रहेका छन् ।

झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले फरार जनप्रतिनिधि र कर्मचारी पक्राउ गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको बताए ।

विर्तामोड नगरपालिका–८ का वडा अध्यक्ष अजय कार्की भने जेठदेखि फरार छन् । कार्की पनि उपचार गराउने भन्दै वडा सदस्यलाई कार्यबाहक दिएर हिँडेका थिए ।

नागरिकता काण्डमा मुछिएका व्यक्तिलाई पक्राउ गरी मुद्दाको अनुसन्धान गर्नुपर्ने भएको र फरार कसुरदारहरू उपर झापा जिल्ला अदालतबाट गत भदौ १३ मा पक्राउ अनुमति प्राप्त भइसकेको प्रहरी कार्यालय झापाको पत्रमा उल्लेख छ ।