सप्तरीमा बोर्डिङका एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

Newslaya Home

सप्तरीमा बोर्डिङका एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

मङ्गलबार २८, असोज २०७६

सप्तरी । राजविराज–५ स्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलका शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

शिक्षकको कुटपिटका कारण राजविराज–७ का सदानन्द भगतका छोरा १४ वर्षीय सुमित भगत घाइते भएका छन् । कक्षा ६ मा अध्ययनरत सुमितको पिठ्युँमा चोट लागेको छ।

होस्टलमा नबसेर विद्यालयको बस चढी घर जान खोजेको भन्दै शिक्षक चन्दनकुमार झाले आफूलाई कुटपिट गरेको सुमितले बताएका छन् । उनी विगत ६ महिनादेखि विद्यालयको होस्टलमा बसेर अध्ययनरत छन् । दसैं बिदापछि विद्यालय सञ्चालन आएको पहिलो दिन आफूलाई होस्टलमा बस्न मन नलागेर घर जान खोज्दा एक्कासी कुटपिट गरिएको उनको भनाइ छ।

सुमितका अनुसार झाले होस्टलका अन्य बालबालिकालाई समेत निर्घात कुटपिट गर्ने गरेका छन्। सदानन्दले शिक्षक झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन् ।