आफू कुनै पार्टी विरोधी नभएको बताउँदै दीपकले लेखे, ‘हरेक कुरा राजनीतिक चस्माले नहेरौं’

Newslaya Home

आफू कुनै पार्टी विरोधी नभएको बताउँदै दीपकले लेखे, ‘हरेक कुरा राजनीतिक चस्माले नहेरौं’

मङ्गलबार २८, असोज २०७६

काठमाडौ । चलचित्र छ माया छपक्कै अहिले देशभरका हलमा भव्यताका साथ प्रदर्शन भइरहेको छ । निकै राम्रो व्यापार गरिरहेको चलचित्रमा राजनीतिक विकृतीलाई व्यंग्य गरिएको छ ।

तर चलचित्र राजनीतिक हिसाबले एकपक्षीय भएको आरोप लागिरहेको छ । खासगरी कम्युनिष्ट विचारधाराको विरोध चलचित्रले गरेको भनेर आलोचना भइरहेको छ ।

आलोचनाका स्वरहरु सामाजिक सञ्जालमा गुन्जिरहँदा निर्देशक तथा निर्माता दीपकराज गिरीले फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् । उनले चलचित्रलाई राजनीतिका आँखाले हेरिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

कसैले कम्युनिष्ट त कसैले काँग्रेसको विरोध गरेको भन्दै आरोप लगाउने गरेको भएपनि आफूहरुले कुनै दल विशेषको विरोेध वा समर्थन नगरेको स्पष्ट पारे । उनले कतिपयले ज्ञानेन्द्र शाहीहरूको लाइनमा पो हो कि क्या हो भनेरसमेत जिस्काएको बताए ।

फेसबुक स्टाटसले हाम्रो मस्तिष्क कतिसम्म राजनीतिक प्रदूषणले ग्रसित भैसकेछ भन्ने कुरा स्पष्ट भएको गिरीले उल्लेख गरेका छन् ।

उनी आफू कुनै राजनीतिक दलमा आस्था राखेपनि राजनीतिक विचारलाई काममा पर्न नदिएको बताउँदै लेखेका छन्, ‘कर्ममा प्रतिबिम्बित हुन् दिएको छैन र भबिष्यमा पनि दिन्नँ । चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि हो मा हो नमिलाऔं, गलत कुराको बिरोध गरौ, झोले नबनौ, जनताको पीडा केन्द्रबिन्दुमा राखेर काम गरौँ भन्ने हो ।’

उनले आफ्नो पृष्ठभूमि कुनै एक दल वा व्यक्तिको शासन हुनुपर्ने भन्ने पनि नभएको बताए । उनले यसो भनिरहँदा राजावादी नभएको स्पष्ट पारेको अनुमान गर्न सकिन्छ ।