जापानमा हागिबिस नामको आँधीले १८ जनाको ज्यान लियो

Newslaya Home

जापानमा हागिबिस नामको आँधीले १८ जनाको ज्यान लियो

आइतबार २६, असोज २०७६

टोकियो । जापानमा हागिबिस नामको शक्तिशाली आँधीमा १८ जनाको मृत्यु भएको छ ।

हालैका वर्षहरु मध्यको निकै शक्तिशाली मानिएको हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो ।
प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा आएका आँधीका कारण कम्तीमा ९९ जना घाइते भएका र एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले जानकारी दिएको छ ।
आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार हेलिकप्टरको प्रयोग गरि सेना परिचालन गरिएको उद्धारकर्मीहरुले बताएका छन् ।

नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भए पनि आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ ।
गएराति स्थानीय ४२७ घरपरिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले जानकारी दिएका छन् ।

सेनालाई उद्धारका लागि घरका झ्याल र बाल्कोनीबाट अनुरोध गरिरहेका छन् । देशका धेरै भाग विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण प्राप्त हुन कठिन भएको छ ।
विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेकाले नदी किनाराका घरहरु डुबानमा परेका छन् ।