धरानमा हतियार प्रहारबाट चार जना घाइते

Newslaya Home

धरानमा हतियार प्रहारबाट चार जना घाइते

शनिबार २५, असोज २०७६

धरान । धरानमा शुक्रबार हतियार प्रहारबाट चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार धरानस्थित छाताचोकमा मोबाइलको बिषयमा साथी साथीबीच विवाद हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट सविन भुजेल गम्भीर घाइते भएका छन् । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचार भइरहेको छ । छुरा प्रहार गर्ने व्यक्ति भने फरार छन् । उनको पहिचान भइसकेको र खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

यस्तै, शुक्रबार राती करिब ११ बजे धरान–४ स्थित बसन्तटारमा जथाभावी खुकुरी प्रहार हुँदा तीन युवाहरु गम्भीर घाइते भएका हुन् । वसन्तटार क्षेत्रबाट मोटरसाइकलमा फर्कदै गरेका उनीहरुमाथि बीचबाटोमा रोकेर जथाभावी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट धरान–११ का आकाश राई गम्भीर घाइते भएका छन् । उनको देब्रे कानको लोती काटिएको छ भने टाउको, ढाड, पेटलगायत शरीरको विभिन्न अंगमा चोट लागेको छ । यस्तै, उनीसँगै मोटरसाइकलमा सवार राज्य राई र समीर राई पनि घाइते छन् । उनीहरुलाई भने सामान्य चोट लागेको छ ।

घाइते आकाशका अनुसार युवाहरुको समुहले बाटोमा रोकेर एक्कासी खुकुरी प्रहार भएको थियो । ती युवाहरुसँग आफुहरुको कुनै दुश्मनी नभएको र नचिनेको उनले बताए । घाइते आकाशको विपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । आक्रमण गर्नुको कारण र आक्रमणकारीहरुबारे खोजतलास भइरहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।