हवाई गस्तीमा जुट्यो नेपाली सेना

Newslaya Home

हवाई गस्तीमा जुट्यो नेपाली सेना

शनिबार २५, असोज २०७६

काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने भएका छन् ।

भ्रमणका बेला विमानस्थलन, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।
अत्याधुनिक दूरविनबाट निगरानी गर्दै नेपाली सेनाले पनि बिहान ११ बजेबाट हवाईगस्ती सुरु गरेको छ।

सेनासँगै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले पैदलगस्ती गरिरहेका छन् । सेनाकै नेतृत्वमा चार वटा सुरक्षा निकायले सी चिनफिङको भ्रमण अवधिभरलाई पहरेदार दिइरहेका छन् ।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकप्टरले ‘एरियल रेकी गर्नेछ। खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि विमानस्थलसम्मको रूटमा विशेष सुरक्षा दिँदै सुरक्षा निगरानीका लागि सेनाको हेलिकप्टले एरियल रेकी गर्नेछ।

सी चिनफिङको भ्रमणमा प्रयोग हुने सवारी रुटमा पर्ने ठूला घरका छतबाट समेत सेनाले अत्याधुनिक हतियार र दूरविनबाट निगरानी गरिरहेको छ। सेना, प्रहरी र सशस्त्रले कन्ट्रोल रुम भेइकल (सीआरभी) मार्फत सवारी रुटमा गस्ती गरिरहेका छन्। सुरक्षाको सम्पूर्ण प्रबन्ध भइसकेको र त्रुटिरहित ढंगले सीको भ्रमणलाई सफल बनाउने नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले बताएका छन् ।