सीको भ्रमणका लागि सोल्टी होटल तीन दिन खाली, सडक र आकाश खुला

Newslaya Home

सीको भ्रमणका लागि सोल्टी होटल तीन दिन खाली, सडक र आकाश खुला

शनिबार २५, असोज २०७६

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो ।

सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।

तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ । प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।

सीको सवारीका क्रममा एक घन्टासम्म रोड खाली हुने भएको छ । पैदलयात्रुलाई समेत रोक्ने गरी सडक खाली गर्न लागिएको हो । विमानस्थलदेखि तिनकुने, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ । फर्कंदा पनि कम्तीमा एक घन्टा सडक खाली हुने एक ट्राफिक प्रहरीले जनाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ । सडक व्यवस्थापनका लागि समेत सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीसहित २० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये कतिपयसँग फ्री तिब्बत लेखिएका झोला र ज्याकेट भेटिएको थियो । त्यस्तै, गत महिना चिनियाँ दूतावासअघि केही महिलासहित चीनविरुद्ध नाराबाजी गर्ने सुनीता साहलाई पनि प्रहरीले शुक्रबार राजविराजबाट पक्राउ गरेको छ ।

सीको सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् । उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । गत मंगलबार चीनबाट सी चढ्ने गाडीसमेत ल्याइसकिएको छ ।