सिन्धुपाल्चोक दुर्घटनामा मर्नेको संख्या १४ पुग्यो, ‘रोकिसकेको बस भीरबाट चिप्लेर झरेको थियो’

Newslaya Home

सिन्धुपाल्चोक दुर्घटनामा मर्नेको संख्या १४ पुग्यो, ‘रोकिसकेको बस भीरबाट चिप्लेर झरेको थियो’

शनिबार २५, असोज २०७६

काठमाडौ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा ५० भन्दा बढी अझै घाइते रहेको स्थानीयले जानकारी दिएका छन् ।

बसमा कम्तीमा पनि ८० बढी यात्रु थिए । कच्ची सडक र बढी यात्रुका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइते सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु थिए भने अगाडिको पाङ्ग्रामा हावा कम थियो । यस्तो अवस्थामा रोकिसकेको गाडी चिप्लेर पल्टेको उनले बताए । “विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो,” तामाङले भने ।

बस दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले प्रतिपरिवार २५ हजार रुपैया तत्कालै उपलब्ध गराउने जनाएको छ ।

‘३४ सिटको बस ओभरलोडकै कारण पाटपुर्जाले काम गर्न नसकेर कच्ची सडकको मोडबाट तल खसेको देखिन्छ,’ घटनास्थलबाट चौतारा फर्किएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले भने।
टायरको हावा फुस्किएपछि पनि चालकले बस मोड्न खोज्दा ब्रेक फेल भएर पल्टिएको प्रत्यक्षदर्शीले बताए ।

रुखमा अड्किएर बाँचेका यात्रु छविलाल भट्टराईले भने, ‘चालकले गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हामफाल्नुस् भन्यो । सबैजना रुन कराउन थाले। म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले। मैले भान्जीलाई केही हुन्न हामी पनि हाम फालौँ भने। हामफाल्यौँ। म कोइरालाको रुखमा अड्किँए ।’