युवतीलाई अपहरण गरी भारत लाँदै गर्दा तीनजना पक्राउ

Newslaya Home

युवतीलाई अपहरण गरी भारत लाँदै गर्दा तीनजना पक्राउ

शुक्रबार २४, असोज २०७६

सिरहा । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको बेला प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट तीन जनालाई पक्राउ गरेको छ ।

भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया किशोरीलाई अपहरण गरी लान लागिएको थियो ।

लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर बिहीबार बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेका थिए ।

आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

उक्त गाडीमा रहेका अन्य दुईजना भाग्न सफल भएका छन् । अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।