अस्ट्रेलियासँग ५–० ले हार्यो नेपाल, तर पनि किन खुसी ?

Newslaya Home

अस्ट्रेलियासँग ५–० ले हार्यो नेपाल, तर पनि किन खुसी ?

बिहीबार २३, असोज २०७६

क्यानबेरा । अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले हराएको छ । विश्वकप छनोट फुटबलको बिहीबार खेलिएको खेलमा प्रारम्भदेखि नै अष्ट्रेलियाले नेपाललाई दबाबमा राखेको थियो ।

पाँच पटक सम्म विश्वकप खेलिसकेको अष्ट्रेलिया नेपालभन्दा तुलनात्मक रुपमा बलियो टिम हो । त्यसैले अष्ट्रेलियालाई कम गोलमा समेटेकोमा नेपालले सन्तोष मानेको हो ।
खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध आक्रामक रणनीति अंगालेको थियो ।

अस्ट्रेलियाका लागि छैटौं मिनेट र १९ औं मिनेटमा दुई गोल जेमी म्याकलरेनले गरे । अस्ट्रेलियाका लागि तेस्रो गोल २४ औं मिनेटमा ह्यारी सटरले गरे ।

खेलको ५८ औं मिनेटमा अस्ट्रेलियाले चौंथो गोल थप्यो । अस्ट्रेलियन खेलाडी ह्यारी सटरले हेड गरेको बल बचाउन खोज्दा नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर गोल हुन पुग्यो ।

नेपाली टोलीका गोलरक्षक किरन चेम्जोङले अस्ट्रेलियन खेलाडीले प्रहार गरेको करिब एक दर्जन उत्कृष्ट प्रहारलाई विफल पारेका थिए ।

खेलको ९० औं मिनेटमा अस्ट्रेलियाका जामी म्याकलरेनले नेपाली टोलीका रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।

करिब २५ हजार दर्शक क्षमताको जियो रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १८ हजार दर्शक उपस्थित भएका थिए । दर्शकमा नेपाली टोलीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली टोलीले खेलेको यो तेस्रो छनोट खेल हो । यसअघि कुवेतसँग नेपाल ७—० गोलले हारेको थियो भने चाइनिज ताइपेईलाई उसैको मैदानमा २—० गोलले हराएको थियो । उक्त खेलमा दुबै गोल अञ्जन बिष्टले गरेका थिए।

अस्ट्रेलिया फिफाको वरियताको ४४ औं र नेपाल एक सय ६१ औं स्थानमा छन् । अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप खेलिसकेको छ ।

जारी विश्वकप छनोटको एसियाली क्षेत्रअन्तर्गत समूह ‘बी’ मा हालसम्म दुई खेल खेलेको अस्ट्रेलिया अपराजित रहँदै ६ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले कुवेतलाई ३—० गोलले हराएको थियो । अर्को खेल चाइनिज ताइपेयी खेल्दैछ ।

यसैगरी दुई खेल खेलेको कुवेत कुवेत तीन अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । एक खेल खेलेको जोर्डन तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको नेपाल तीन अंकसहित चौथो स्थानमा छ । चाइनिज ताइपेई भने तालिकाको पाँचौं स्थानमा छ ।