वाचा अनुरुप काम गर्न नसक्दा मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो

Newslaya Home

वाचा अनुरुप काम गर्न नसक्दा मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो

बिहीबार २३, असोज २०७६

काठमाण्डौँ । मेक्सिकोका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ । मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् । अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।

एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।