बँदेल र दुम्सीको चकचकीले किसानहरु हैरान

Newslaya Home

बँदेल र दुम्सीको चकचकीले किसानहरु हैरान

सोमबार २०, असोज २०७६

महोत्तरी । महोत्तरीका किसान बँदेलको चकचकीका कारण हैरान भएका छन् ।

जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पार्न थालेपछि यहाँका किसान हैरान भएका हुन् ।

दशैंकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । हुलका हुल पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको किसान चन्देश्वर राय दनुवारले बताए ।

पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए ।

उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन् ।

बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ । बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन् ।

वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन् ।