झापा, उदयपुर र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Newslaya Home

झापा, उदयपुर र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

आइतबार १९, असोज २०७६

सुनसरी । झापा, उदयपुर र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

ईलामको नाम्सालिङ घर भई झापाको बिर्तामोड नगरपालिका–२ मा बस्दै आएका ५७ बर्षीय रामलाल रिसालको पिङ लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । शनिबार साँझ पिङ लगाउन बाँस गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तारमा छुँदा रिसाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाईते भएका रिसाललाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका–२ गरासमा शनिबार साँझ ओखलढुङगाबाट धरानका लागि छुटेको को १ ज ३४०० नम्बरको सुमो गाडीले ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सिन्धुलीका ३४ बर्षीय रुपेन कुवँर गम्भिर घाईते भएका थिए ।

घाईते कुँवरको मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी धरान ल्याउने क्रममा साँझ सवा ७ बजे ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँस्थित भित्रि सडक खण्डमा बाटो माथीबाट बा १५ च ९४२० बलेरो खस्दा चालकको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् । शनिबार राती सवा ११ बजे सोलु सल्लेरीबाट नेचाका लागि छुटेको सो बोलेरो अनियन्त्रीत भई बाटो माथिबाट खस्दा काठमाडौंबाट नेचा सल्यानका लागि छुटेको ना १ ज ५३४२ नम्बरको सुमो माथि बोलेरो खप्टिन पुगेको थियो । दुर्घटनामा बोलेरो चालक सोलुको नेचा सल्यान गाउँपालिका–२ का २१ बर्षीय लेख बहादुर खड्काको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ भने बोलेरो चालक लेखबहादुर खड्काको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।