व्यक्तिगत खर्चमा सडक बनाउँदै संखुवासभामा नगरप्रमुख र वडाध्यक्ष

Newslaya Home

व्यक्तिगत खर्चमा सडक बनाउँदै संखुवासभामा नगरप्रमुख र वडाध्यक्ष

शनिबार १८, असोज २०७६

संखुवासभा । पाँचखपन नगरपालिकाका प्रमुख र वडाध्यक्षले व्यक्तिगत लगानीमा सडक मर्मत गरेका छन् । पाँचखपन नगरपालिका प्रमुख विपिन राई र वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले व्यक्तिगत खर्चमा सडक मर्मत गरेका हुन् ।

बर्षाले सडक अवरुद्ध हुँदा दशैंमा आवत–जावत गर्न असहज भइरहेको बेला जनप्रतिनिधिले आफ्नै खर्चमा सडक मर्मत गरेका हुन् । जनप्रतिनिधिले नगर भित्रका मूख्य सडक मर्मत गरेको वडाध्यक्ष टेकबहादुर बुढाथोकीले बताए । उनीहरूले दशैं खर्च कटाएर दशैंमा आवतजावत गर्न स्थानीयका लागि सहज बनाउन सडक मर्मत गरेका हुन् ।

शुक्रबारदेखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सुरु गरिएको प्रमुख विपिन राईले जानकारी दिए । शुक्रबार बडहरेनी–वाना, वाना–बिहिबारे, बिहिबारे–चुङखुरुङ सडकखण्ड मर्मत गरिएको उनले बताए । शनिबार चैनपुर–बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना–ओक्तेन सडक मर्मत गरिने प्रमुख राईले बताए ।

सडक मर्मतका लागि करिब दुई लाख बढी खर्च लाग्ने वडाअध्यक्ष बहादुर बुढाथोकीले बताए । पाँचखपन नगरपालिका प्रवेशद्बारका रुपमा रहेको हेँवा खोलामा पक्की पुल अभावका कारण दशैंमा घर फर्कनेलाई समस्या भएको छ ।