सवारी दुर्घटनामा ट्रकमुनि च्यापिएका ट्रक चालकको उद्धारमा समस्या

Newslaya Home

सवारी दुर्घटनामा ट्रकमुनि च्यापिएका ट्रक चालकको उद्धारमा समस्या

शनिबार १८, असोज २०७६

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा ट्रकमुनि च्यापिन पुगेका ट्रक चालकको उद्धारमा समस्या भएको छ ।

शनिबार बिहान २ बजे भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर च्यापिएका ट्रक चालकको च्यापिएको पाँच घण्टा भइसक्दा पनि उद्धार हुन सकेको छैन । बस चालक घोडाघोडी नगरपालिका–१ निवासी २२ वर्षीय अरुण चौधरीको भने उद्धार गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

ट्रक चालक अझै च्यापिएको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर च्यापिएका चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको हो ।

दुर्घटनामा दुवै चालकसहित १३ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ भने १० जनाको राप्ति पोलिक्लनिक भालुबाङमा उपचार भइरहेको छ ।