दूधकोशी जलविद्युत् आयोजनाबाट तीन जिल्लाका ११ सय घरधुरी विस्थापित हृुने

Newslaya Home

दूधकोशी जलविद्युत् आयोजनाबाट तीन जिल्लाका ११ सय घरधुरी विस्थापित हृुने

शनिबार १८, असोज २०७६

उदयपुर । ६३५ मेघावटको दूधकोशी आयोजनाले तीन जिल्लाका साढे ११ सय घरधुरी विस्थापित हृुने भएका छन् । प्रदेश १ को खोटाङ, ओखलढुंगा र सोलुखम्बुकोबीचमा पर्ने दुधकोशी नदीको तटिय क्षेत्रका वस्ति विस्थापित गर्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, इन्जिनीयरिङ सेवा निर्देशनालयले तयार गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) मा यस्तो देखाइएको हो । प्रतिवेदनका अनुसार ११ सय ५० घरधुरीमध्ये १६२ घरमा पूर्णरुपमा क्षति पुग्ने जनाइएको छ । प्रतिवेदनका अनुसार खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुंगाको ४७९ र सोलुखुम्बुको १४ घरधुरी गरी ११ सय ५० घरधुरी स्थानीयवासी प्रभावित हुने उल्लेख गरिएको छ ।

दुई खर्ब २० अर्ब रुपैँयाको लगानीमा बन्न लागेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना हो । आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठ अनुसार उक्त आयोजनाबाट दुई लघु जलविद्युत् आयोजना, एउटा साना जलविद्युत् आयोजना, छ वटा हिन्दू मन्दिर र चार वटा विश्रामस्थल, दुई वटा पक्की तथा १२ वटा झोलुङ्गे पुलमा क्षति पुग्ने छ ।

२२० मिटर अग्लो बाँध बन्ने १९ किलोमिटर क्षेत्रफलमा फैलने जलाशययुक्त जलविद्युत् आयोजनाबाट सात लाख १० हजार १० वर्गमिटर खेतीयोग्य जमिनमा क्षति पुग्छ ।

आगामी मंसिर महिनाभित्रै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को बन्ने भएको आयोजना प्रमुख श्रेष्ठले बताए । अहिलेसम्म सम्भावित अध्ययन प्रतिवेदन तयार भएको भन्दै प्रमुख श्रेष्ठले विस्तृत ढाँचाको मस्यौदा, बोलपत्रको मस्यौदा प्राप्त भएको, विज्ञ समूहबाट पुनरोवलोकन भएर सुझाव प्राप्त भइसकेको जानकारी दिए ।

६३५ मेघावट उत्पादन हुने दुधकोशी जलशाययुक्त आयोजनलाई खोटाङ, ओखलढुंगा र सोलुखम्बुका संसदहरुले राष्ट्रिय आयोजना बनाउन माग गरेका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ऊर्जामन्त्री पुनलाई भेटेर दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना समावेश गर्न माग गरेको बताए ।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।